सन्दिपलाई फेरी यस्तो अफर

काठमाण्डु टुडे २०७६ कार्तिक २८ गते १४:५८ मा प्रकाशित

काठमाण्डु,२८ कात्तिक -छ करोडकोे घर किनेसँगै विवादमा तानिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने झन महँगिदै गएका छन् । लामिछाने पाकिस्तानमा हुने सिजन २०२० को सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको २८ विदेशीसँगै प्लाटिनम श्रेणीमा परेका छन् । आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ‘ड्राफ्ट’ हुनेछ। ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन्।

ड्राफ्टबाट टिममा छनोट हुन सफल भएमा खेलाडीले कम्तिमा १ लाख ४७ हजार डलर (१ करोड ६९ लाख रुपैयाँ) देखि २ लाख १८ हजार डलर (२ करोड ५१ लाख रुपैयाँ) प्राप्त गर्नेछन्।प्लाटिनमको रकम अघिल्लो वर्ष भन्दा घटाइएको हो। अघिल्लो सिजन १ लाख ६० हजार डलर देखि २ लाख ५० हजार डलर राखिएको थियो। । आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय ‘द हन्ड्रेड’ (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) मा ओभल इन्भिसिबल्समा सन्दीप १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) आबद्ध भएका थिए।

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ। ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ।एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ।

गत सिजनमा सन्दीपले लाहोरबाट खेलेका थिए। सन्दीपबाहेक ड्राफ्टमा नाम समावेश गर्नका लागि पाँच जना नेपाली क्रिकेटर सिफारिस गरिएको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको थियो। पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको थियो। तर पाँचै जनाको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने छैन।

प्लाटिनमको ड्राफ्टमा परेका विदेशी खेलाडी अफगानिस्तान : मोमहद नाबी, मुजिर उर रहमान र रासिद खान अस्ट्रेलिया : डान क्रिस्टियन, बेन कटिङ र क्रिस लिन इंग्ल्यान्ड : मोइन अली, ह्यारी गुनरी, एलेक्स हल्स, क्रिस जोर्डन, लियाम प्लुङ्केट, अदिल रसिद र जासन रोए
नेपाल : सन्दीप लामिछाने न्युजिल्यान्ड : कोलिन मुनरो दक्षिण अफ्रिका : हसिम अमला, जेपी डुमिनी, कोलिन इनग्राम, रोली रस्सो, डेल स्टेन र इमरान ताहिर श्रीलंका : एन्जेलो म्याथ्युज र थिसरा परेरा वेस्ट इन्डिज : कार्लोस बाथवेट, ड्वाइन ब्राभो, इभिन लेविस, सुनील नारिन र केइरन पोलार्ड

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us