रंगशाला तयार नहुँदा घरेलु मैदानको खेल पनि विदेशमै खेलाइने

काठमाण्डु टुडे २०७६ कार्तिक २१ गते १६:३७ मा प्रकाशित

काठमाण्डु,२१कात्तिक–दशरथ रंगशालाका लागि निर्धारित विश्वकप फुटबल छनोट प्रतियोगिताको नेपालको घरेलु मैदानको लागि निर्धारित खेल भुटानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर ३ गते कुवेत विरुद्ध हुने खेल दशरथ रंगशालामा खेलाउने प्रस्ताव गरेको थियो ।

तर निर्माणाधीन अवस्थामा रहेको रंगशालाको समयमै निर्माण पुरा हुन नसकेपछि उक्त खेल नेपालमै नहुने निश्चित भएको हो ।
एन्फाको प्रस्तावमा एशियाली फुटबल महासंघ र अन्तर्राष्ट्रिय फुटबल महासंघले रंगशाला तयारी अवस्थामा नरहेको प्रष्ट्याएपछि एन्फाले उक्त खेल नेपालमा हुन नसक्ने जनाएको छ ।

एन्फाको प्रस्तावमा ए एफ सीको प्रतियोगिता समितिको प्रतिनिधि देङग सिओ लोङगले मंगलबार दशरथ रंगशालाको नीरिक्षण गरेका थिए । उनले प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रंगशाला तयार हुन नसकेको रिपोर्ट बुझाएका थिए ।

एन्फाले कुवेत विरुद्धको होम खेल भुटानको चाङगलिमिथाङग रंगशालामा सञ्चालन गर्न फिफा र ए एफ सीसँग प्रस्ताव गरिएको जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले अधिकत्तम प्रयासका बावजूद नेपालमा उक्त खेल हुन नसक्ने बताएका छन ।

२०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त बनेको दशरथ रंगशालाको पुर्ननिर्माणको कार्य विगत् तीनवर्षदेखि हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us