काठमाण्डु , २१ कात्तिक – नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यानमारसँग नेपाली समयअनुसार अपराह्न सवा ४ बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
म्यानमारको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यानमारको सामना गर्दैछ ।म्यानमारसँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यानमारको पक्षमा थियो । सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यानमार समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेल्नेछ । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ ।
नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।त्यस्तै ,मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।