हुम्ला, १५ वैशाख – सुशील कोइराला सरकारले हुम्लामा दुई महिनादेखि खाद्यान्न ढुवानी नगर्दा चरम भोकमरी सिर्जना भएको छ । त्यहाँका २७ गाविसका मानिसहरु हुम्ला जिल्लाको सिमानामा पर्ने चीनको ताक्लाकोटबाट मैदा ल्याइएकाले थुक्पा र रोटी खान बाध्य भएका छन् ।
झन विकट क्षेत्र स्याडा, लिनी, हेक्का, डाँडाफाट, खगाल गाँउका मानिसहरु त पानी मात्र खाएर बस्न बाध्य भएका छन् । मैदा गुणस्तरीय नभए पनि सिमीकोट आसपासका मानिसहरु भने २५ केजी पीठो चार हजार मूल्य तिरेर ल्याएका छन् ।
एकीकृत नेकपा माओवादीका नेता छिमी लामाले भने सरकारी उदासिनताको कारण हुम्लामा खाद्यान्न अभाव भएको बताउँछन् । अहिले मात्र हैन बाह्रै बास हुम्लामा खाद्यान्न अभाव हुन्छ उनले भने – ‘कोइराला सरकारले बेलैमा सोचिदिएको भए भोकमरीको समस्या आउने थिएन’ ।
नेपालगंज र सुर्खेतबाट हवाइ माध्यमबाट हुम्ला पुगेको खाद्यान्न अभाव भएको भन्दै खाद्य संस्थानले बितरण नगरेको हो । स्थलमार्गबाट जाने खाद्यान्न ठेकेदार, जिल्ला प्रशाशन र खाद्यान्न व्यबसायीको मिलेमतोमा बाटोबाटै गायव हुने लामाले बताए ।
खाद्यान्नको चरम अभाव भएपछि प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले अञ्चल, क्षेत्र, विभाग र मन्त्रालयमा आपूर्तिका लागि पत्राचार गरिसकेको जानकारी गराएका छन् । जिल्ला खाद्य व्यवस्था समितिले ३१ हजार ५०० क्विन्टलको आवश्यकता भएको भन्दै संस्थानसँग माग गरेको थियो ।
हुम्लामा खाद्यान्यका लागि ढुवानी खर्चबापत १५ करोड विनियोजित गरे पनि बजेट निकासा नहुँदा खाद्यान्न अभाव भएको खाद्य संस्थानले जनाएको छ । चाडै नै सतह मार्गबाट एक हजार ४१२ र हबाई मार्गबाट छ हजार २९२ क्विन्टल ढुवानी गर्ने योजना रहेका आर्चायले बताए ।