एमसीसी विरुद्ध नेपालको शानदार जित

काठमाण्डु टुडे २०७६ कार्तिक १८ गते १६:०२ मा प्रकाशित

काठमाण्डु , १८ कात्तिक – नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित रहँदै ५२ रनको अर्धशतको योगदान दिए । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे ।शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी खेलेका थिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले ।रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४र४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १र१ विकेट रह्यो ।
अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ । यसअघि आइतबार एमसीसीले नेपाली यू(१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us