काठमाण्डु, १४ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले परिवर्तनका संवाहक शक्तिलाई किनारा लगाउने काम भएको छ भन्दै परिवर्तनकारीबीचको ध्रुवीकरण आवश्यक भएको बताएका छन् ।
हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानद्वारा आज काठमाण्डुमा आयोजित ‘परम्परागत संस्कार-संस्कृतिको विकल्पको खोजी’ विषयका विचारगोष्ठीमा अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको संविधान बन्ने सम्भावना नभएको भन्दै संविधान निर्माणको क्रमसँगै परिवर्तनकारी शक्ति मिलेर नयाँ शक्ति बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष वैद्यले सांस्कृतिक रूपान्तरणका क्रममा बल प्रयोग वा यान्त्रिक बाटोभन्दा वर्ग सङ्घर्षको बाटो सही हुने बताए ।
कार्यक्रममा ‘परम्परागत संस्कार÷संस्कृतिको विकल्पको खोजी’ विषयमा डा ईश्वरचन्द्र ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै ईश्वरीय आस्था तथा फजुल खर्चमा आधारित परम्परागत र सामाजिक विकृतियुक्त संस्कार र संस्कृतिमा परिवर्तन आवश्यक भएको जनाए ।