काठमाण्डु , ७ कात्तिक – साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सुधार भएको छ ।
अघिल्लो दिन ७.७९ अंक नेप्से आज ६.७३ अंकले बढेर ११४९.३४ बिन्दूमा पुगेको छ । कुल १५५ वटा कम्पनीको १२ लाख ४ हजार कित्ता शेयर ३२ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार परिसूचकका साथै कारोबार रकम पनि वृद्धि भएको छ ।
बिहीबार कारोबारमा आएका समूहमध्ये निर्जीवन बीमा समूह बाहेक सबै समूह बढेका छन् । यस दिन माछापुच्छ्रे बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको आज ७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचकमा सुधार आएको दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । तर, अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।