एउटा फलफूलको बोट रोप्नुहोस् : दश रुपैयाँको नोट पाउनुहोस्

काठमाण्डु टुडे २०७६ कार्तिक ५ गते १४:०४ मा प्रकाशित

चितवन , ५ कात्तिक – चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा दश रुपैयाँ दिने भएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा दश रुपैयाँ दिने भएको हो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न एक फलफूलको बोट रु. दशको नोट कार्यक्रम ल्याइएको बताइन् । अध्यक्ष गुरुङले भने, इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु. दशको नोट कार्यक्रम ल्याएका छौँ ।
गाउँपालिकाले व्यावसायिक फलफूलखेती गर्नेका लागि दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ । ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।
गाउँपालिकामा सुन्तला, कागती, नास्पातीलगायतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई एक लाख रुपैयाँ, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई ६० हजार रुपैयाँसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा तीन दुहुना भैँसी पाल्ने ८ जनालाई जनही एक लाख रुपैयाँ, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही एक लाख रुपैयाँ, बाख्राखोर सुधारका लागि २० जनालाई जनही २५ हजार रुपैयाँ, ब्याड बोकाका लागि २० जनालाई जनही ४० हजार रुपैयाँ र बङ्गुरपालक दुई जना किसानलाई जनही २५ हजार रुपैयाँ अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले किसानका लागि वडा नम्बर-४, कुरिनटारमा शीत भण्डार निर्माण गरिएको बताए । साथै वडा नम्बर-३ फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिए ।
चितवनको दुर्गम भेगमा रहेको यस इच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।(रासस)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us