भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली नियुक्त

काठमाण्डु टुडे २०७६ असोज २७ गते १७:२० मा प्रकाशित

एजेन्सी , नयाँदिल्ली– भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ ।

 

अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुने भएका हुन् । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकोमा बधाई दिएका छन् ।भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ ।

भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, खन्नाले भनेका छन् । खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पुयाउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी ब्रिजेस पटेललाई आईपिएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन् । –एएनआई

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us