नेदरल्याण्डमाथी नेपालको रोमान्चक जित

काठमाण्डु टुडे २०७६ असोज २० गते १८:२७ मा प्रकाशित


काठमाण्डु,२०असोज–ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरेको हो। ब्याटिङ र बलिङ दुवैमा करण केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको हो।
आजको खेलमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै करण हिरो बने । नेपालका लागि केसीले विष्फोटक ब्याटिङ गरे। उनले ३ छक्का र १ चौकाको मद्दतमा १४ बलमा नटआउट ३१ रनको योगदान दिए। यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिँदा विनोद भण्डारीले २६ रन जोडे। त्यसैगरी, पवन सराफले ९, दीपेन्द्रसिंह ऐरीले ८ र आरिफ शेखले २ रन जोडे। बलिङमा नेदरल्याण्ड्सका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एकरएक विकेट लिए।
सुरूमा व्याटिङ गरेको नेदरल्याण्डले निर्धारित १९।३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो। नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४(४ विकेट लिए। संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३।३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन्। यसबाहेक ललित राजवंक्षीले १ विकेट लिए। पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।
जारी सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो। यस्तै, नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us