काठमाण्डु, ११ वैशाख – संविधानसभामा रहेका विभिन्न १३ वटा साना राजनीतिक दलले संविधानसभाको नियमावलीबमोजिम समितिहरूले पूर्णता नपाई सभापति चयन गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
उनीहरूले आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षणपत्र बुझाउँदै समितिलाई पूर्णता प्रदान गरेर मात्रै समितिको नेतृत्व चयन गर्नु उपयुक्त हुने बताएका हुन् ।
सभाध्यक्ष नेम्वाङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ – ‘संविधानसभाबाट संविधान जारी गर्ने प्रयोजनका लागि संविधानसभाको नियमावली सर्वसम्मतरुपमा मस्यौदा गरी उक्त मस्यौदा संविधानसभाबाट सर्वसम्मत रुपमा पारित गरी सो नियमावलीबमोजिम संविधानसभाको काम कारबाही सञ्चालन भएको भएपनि नियमावलीको व्यवस्थाबमोजिम संविधानसभाका समितिहरूले पूर्णता पाएका छैनन् । समितिले पूर्णता नपाई समितिको सभापति निर्वाचन गर्दा नियमविपरीत हुन जान्छ ।’
उनीहरूले नियमावलीबमोजिम समितिलाई पूर्णता दिनुका साथै नियमावली पूर्णरुपमा पालन गर्ने वातावरणको सुनिश्चित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
यसरी आग्रह गर्ने सभासद्मा कुमार खड्का, गोपाल दहित, डिलबहादुर नेपाली, प्रेमबहादुर सिंह, लोकमणि ढकाल, विश्वेन्द्र पासवान, रामकुमार राई, रुक्मिणी चौधरी, शिवलाल थापा, हरिचरण साह, एकनाथ ढकाल, अख्तरकमाल मुसलवान र चन्द्रेश्वर झा छन्् ।