मेरो श्रीमान होम कार्की तीन वर्षदेखि कतारमा बसेर कान्तिपुर दैनिकका लागि रिपोर्टिङ गर्नुहुन्छ । म पनि नौ महिना बसेर तीन महिना अघि मात्रै फर्केकी थिएँ । फेरि फर्किने गरी घर आएकी थिएँ । वैशाख ९ गते राति ११ बजेर २० मीनेटमा मेरा रिटर्न फ्लाईट थियो । त्यसै अनुसार म वैशाख ९ गते म कतारको दोहा जान बेलुकी ८ बजे त्रिभुवन विमानस्थल पुगें ।
मलाई विदाइ गर्न भाइ र देवरहरु गरी ५ जना म सँगै विमानस्थल पुगेका थिए । सबैले विदाई गरेपछि म विमानस्थल भित्र छिरें । प्रहरीलाई आवश्यक कागजात देखाएर अघि बढेर नेपाल एयरलाइन्सबाट बोर्डिङ पास लिएँ । माथिल्लो तल्लामा पुगेर अध्यागमनको फारम पनि भरें । छाप लगाउने ठाउँमा मलाई विमानस्थलका कर्मचारीले नानाथरी प्रश्न सोधे ।
प्रश्न सोधेर मलाई अलमल्याउने काम भयो । ‘तपाईंको श्रीमान होम कार्की हो भन्ने तपाईसँग प्रमाण के छ ?’ अध्यागमनका कर्मचारीले प्रश्न तेस्र्याए । मैले एमआरपीमा रहेको श्रीमानको नाम देखाएँ । उनले पत्याएनन । त्यसपछि उनले अर्कै कुरा गर्न थाले । पहिले होम कार्कीलाई मेरो श्रीमान भनेर नपत्याएका कर्मचारीले एक्कासी भने– फेमिली भिसामा जान लाग्नुभएको रैछ १५ सय अमेरिकी दिनुस ।’ पैसा दिए मात्रै छाप हान्न उनी तयार भए । तर मैले पहिले जाँदा पैसा तिर्नु नपरेको कुरा जानकारी गराएँ र भने किन दिने ? त्यसपछि उनले झन ठाडो जवाफ फर्काए–नदिए, फर्कनुस ।’
सबै डकुमेन्ट हुँदाहुँदै पनि अध्यागमनका कर्मचारीले दुख दिएपछि मैले कतारमा रहेका मेरा श्रीमानलाइ फोन गरेर सबै कुरा सुनाएँ । श्रीमानले ‘पीर नगर म साथीभाईलाइ फोन गर्न लगाउँछु’ भनेर फोन राख्नुभयो । ८ बजे १० बजेसम्म मलाई विमानस्थलमा कर्मचारीले दुख दिए । राति ११ बजेर २० मिनेटको फ्लाइट थियो ।
तर १० बजेसम्म जान पाउने नपाउने अत्तो पत्तो थिएन । प्लेन छुट्छ की भन्ने डर थियो । घर फर्कनु पर्ने हो किन भन्ने चिन्ता पनि उत्तिकै थियो । तर साढे १० बजे मसँग १५ सय अमेरिकी डलर माग्ने ती कर्मचारीले बल्ल तल्ल बोर्डिङ पास दिए । त्यसपछि म वेइटिङ रुममा गएर बसेकी मात्रै थिएँ, माईकमा आवाज आयो– चाँदनी शर्मा कृपया ५ नम्बर गेटमा आउनुहोला ।’ निकै डर लाग्यो, बल्ल–बल्ल दिएको बोर्डिङ पास पनि फिर्ता लिन बोलायो भन्ने शंकाले डराई–डराई ५ नम्बर गेटमा गएँ । अख्तियार दूरुपयोग अनुसन्धानबाट टोली आएको रहेछ ।
श्रीमानले दाजु सुजित महतलाई मैले भोगेको समस्या भन्नुभएछ । र, दाजु सुजित महतले अख्तियारका आयुक्तलाई फोन गरेपछि टोली आएको भन्ने थाहा पाएँ । अख्तियारबाट आएका रमेश तिमल्सेनाले मलाई ‘के के भयो सबै सुनाउनुस’ भने । मैले सबै कुरा सुनाएँ । उनले मलाई ती कर्मचारीको नाम ‘थाहा छ ?’ भनेर सोधेपनि, तर मैले ‘नाम थाहा छैन मान्छे देखे चिन्छु’ भनेर जवाफ दिएँ । हुलिया लिएर अख्तियारको टोली गयो । म पनि विमानमा गएर बसें । मसँग १५ सय डलर माग्ने विमानस्थलका कर्मचारीलाई अख्तियारले समातेको एकछिन पनि थाहा पाएँ ।
त्यसपछि के भयो मलाई थाहा छैन । अलिअलि पहुँच भएकाको त यस्तो हविगत छ नहुनेलाई कति दुख दिएका होलान विमानस्थलका कर्मचारीले भनेर सोच्दै आएँ । ११ बजेर २५ मिनेटमा काठमाण्डुबाट प्लेन उड्यो । निरन्तर ४ घण्टाको उडानपछि म कतारको दोहा ओर्लिएँ ।
अन्त्यमा विमानस्थल प्रमुखलाई के सोध्न मन लाग्यो भने तपाइले कर्मचारीहरु सेवा दिन राख्नुभएको की दुख ? मलाई तपाइका कर्मचारीले यति धेरै दुख दिए भने अरुलाइ कति दिएका हाेलान ? मेरा कर्मचारीले के गरिरहेका छन् भनेर कहिल्यै सोच्नुभएको छ !