काठमाण्डु ११ वैशाख – नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अति कम विकसित मुलुकको अध्यक्षता गरिरहेको सन्दर्भमासमुदायमा आधारित अनुकूलन (सिबिए)को आठौँ संस्करणको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि नेपालमा सुरु भएको छ ।
बेलायतको ‘वातावरण र विकासका लागि अन्तर्राष्ट्रिय संस्था’ (आइआइइडी) र बङ्गलादेशको ‘उच्च अध्ययनका लागि बङ्गलादेश केन्द्र’ (बिसिएएस)को संयुक्त आयोजनामा पहिलो पटक यहाँ सम्मेलन हुन लागेको हो । विश्वका ४० मुलुकका २०० भन्दा बढी सरकारी तथा गैरसरकारी अनुसन्धानकर्ता र जलवायु विशेषज्ञ आफ्नो रुचिअनुसार कास्की, चितवन, रसुवा, नवलपरासी र काभ्रेपलाञ्चोक जिल्लाको स्थलगत भ्रमणमा गइसकेको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव प्रकाश माथेमाले बताए ।
विज्ञले नेपालको भूबनोट तथा जलवायु परिवर्तनले पु¥याएको असर एवम् रोकथामका लागि स्थानीयस्तरमा गरिएका प्रयासका बारेमा समेत अध्ययन गर्ने र यही वैशाख १७ गते काठमाडौँमा हुने औपचारिक कार्यक्रममा प्रतिवेदनमाथि छलफल गर्ने बताइएको छ ।
प्रतिवेदनका प्रस्तुतिले विकसित मुलुकबाट हुने हरित ग्यास उत्सर्जनबाट अति गरिब तथा विकासोन्मुख मुलुकमा गर्ने असर न्यूनीकरणका लागि समेत सम्बोधन गर्न सहयोग पुग्ने बताइएको छ ।