गहना बजारमा ‘तीजको लहर आएन बरिलै’

काठमाण्डु टुडे २०७६ भदौ ८ गते १६:३० मा प्रकाशित

काठमाण्डु , ८ भदौ — हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा उकालो लागेको सुनचाँदीले व्यवसाहीहरूलाई भने चिन्तित गराएको छ ।

प्रमुख चाडपर्वको अवसरमा ग्राहकले गहना किन्ने नेपालीको चलनलाई कुरिरहेको बेला सुनको मूल्य आकासिएपछि सुन व्यापारीसमेत चिन्तित बनेका छन् । उता, सधैं सुन किन्ने ग्राहक तथा गहनाका पारखीसमेत यसपटक आफूसँग भएको सुन बेच्ने मनस्थितिमा देखिएका छन् ।

राजधानीको कलंकी बस्दै आएकी सविता अधिकारीले यो वर्षको तीजमा गहना किन्ने सोच नभएको बताइन् । एक निजी कार्यालयमा नोकरी गर्ने उनले भनिन्–‘यो वर्ष गहना किन्नेभन्दा पनि म त बेच्ने सोचमा छु । हरेक वर्ष तीजमा सानो तिनो भए नि सुन किन्थे यसपटक महँगो भयो किन्दिन ।’ उनले अगाडि थपिन–‘ किन्छु–किन्छु भन्दा भन्दै एक्कासि भाउ बढ्यो बरु पुराना गहना बेचेर पछि सस्तिएपछि किन्ने योजनामा छु ।’

गहना बेचेर कमाउने प्रतीक्षा गरिरहेका सुन व्यापारी भने यतिबेला सुन किन्नेभन्दा बेच्न आएका ग्राहकबाट हैरान भइरहेको सुनाउँछन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफूसँग भएको सुन बेच्ने गरेको सुन व्यापारीको भनाइ छ । काठमाडौं न्युरोड र विशाल बजारका सुनचाँदी व्यापारीको साझा पीडा देखियो । उनीहरु भन्छन्–‘बिल बोकेर बेच्न आउँछन् । किन्दैनौ भन्न मिल्दैन । कति किन्ने रु कसरी व्यापार गर्ने र?

अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको काठमाडौं न्यूरोड र विशाल बजारका सुनचाँदी पसलको भनाइ रहेको छ । सुनको मूल्य बढेपछि बिक्रीमा उल्लेख्य कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित पारेको उनीहरुको ठम्याइ छ । यसैबीच आइतबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘पसलमा ग्राहक आउँछन्, किन्ने होइन सुनको मूल्य सोध्न आउछन्, कोही बेच्न । तीज आयो भनेर सुनमा लगानी गरेको ठूलै मर्का पर्ने भो,’ बज्राचार्यले समस्या पोखे । हिन्दू महिलाको महानपर्व तीजलाई लक्षित गरी निर्माण गरिएका तयारी गहना अहिले यत्तिकै थन्किएका छन् । ग्राहक पुराना गहना लिएर बेच्न आएको तर नयाँ सुन बिक्री नभएको सुन व्यवसायीले सुनाए।

सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीचको पछिल्लो समय चलेको व्यापारिक द्वन्द्व नै प्रमुख कारण भएको बर्जार्चायले भनाइ छ । डलरमा भन्दा सुनमा लगानी बढेकाले मूल्यवृद्धि भयो, माग बढेपछि मूल्य वृद्धि स्वभाविक हो । सुनको मूल्य देशको आन्तरिक अवस्थाले भन्दा पनि अन्तर्राष्ट्रिय कारोबारले फरक पारेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समयदेखि सुनको मूल्य उतार चढाव आइरहेको संघ महासचिव धर्मसुन्दर बज्राचार्यको विचार छ । अन्तर्राष्ट्रिय बजारमा स्थिर भए पनि नेपालका ठूला व्यवसायीको कारण मूल्य बढ्ने गरेको साना व्यवसायीको आरोप छ ।

सुनको मूल्यको मूल्य अझै बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ । अन्तर्राष्ट्रिय बजारको तुलना गरेर हरेक दिन सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण गर्छन् । वाणिज्य बैंकले खरीद गरेर ल्याउने सुन अन्तर्राष्ट्रिय बजार मूल्य र डलरमा आउने उतारचढावका कारण बढ्ने गर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us