काठमाण्डु, ९ बैशाख – मानव अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले विगत १८० दिनदेखि अनशन बस्दै आएका अधिकारी दम्पतीलाई अनशन तोडेर अदालतको सम्मान गर्न र न्याय प्रक्रिया कुर्न आग्रह गरेका छन् ।
नागरिक समाजका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको सभाकक्षमा आज आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मीहरुका तर्फबाट कृष्णप्रसाद अधिकारी हत्यामा अदालती प्रक्रिया सुरु हुनुलाई स्वागतयोग्य भन्दै जारी अनशन फिर्ता लिएर न्याय प्रक्रिया कुर्न सामूहिक आग्रह गरिएको हो ।
पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी सुदीप पाठकले छोरा कृष्णप्रसादको हत्याका दोषीहरुमाथि कारबाही माग गर्दै अधिकारी दम्पतीहरुको निरन्तरको अनशन तथा अधिकारकर्मीहरुको आवाजका कारण उक्त हत्यामा अदालती प्रक्रिया सुरु भएको बताए ।
उनले अदालतमी प्रक्रिया सुरु भइसकेका अवस्थामा अदालती काम कारबाहीलाई अनशन तोडेर सहयोग गर्नु उहाँहरुको समेत कर्तव्य भएको बताए ।
अधिकारकर्मी सुशील प्याकुरेलले अदालती प्रक्रिया सुरु भइसकेका अवस्थामा आफ्नो स्वास्थ्य रक्षासमेतलाई दृष्टिगत गरी अधिकारी दम्पतीले अनशन तोड्नुपर्ने बताए ।
अधिकारकर्मी सुरेश भट्टले न्याय प्राप्तिका लागि अनशन तोड्नुपर्ने बताए ।
अधिकारकर्मी कनकमणि दीक्षित, राष्ट्रिय मानव अधिकार आयोगका कामु सचिव बेदप्रसाद भट्टराईलगायतले अदालती प्रक्रियाको सुरुवात भइसकेका अवस्थामा उक्त प्रक्रियालाई सही निष्कर्षमा पु¥याउन पनि अनशन फिर्ता लिनुपर्नेमा जोड दिए ।