काठमाण्डु, ९ वैशाख – राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसक्दा नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ ।
अध्यक्ष झलनाथ खनालले आज बेलुकासम्म प्रतिवदेन तयार पार्ने भन्दै समय माग गरेका छन् । खनाल प्रतिवेदन लेखनमा व्यस्त रहेको उनको निजी सचिवालय जानकारी दिएको छ ।
सोमबार बोलाइएको स्थायी कमिटिको बैठकमा खनालले केही समय माग गरेपछि विहीबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
अध्यक्षले तयार गरेको प्रतिवेदन मस्यौदा कमिटी र स्थायी कमिटीमा छलफल भएपछि मात्रै केन्द्रीय कमिटीमा जानेछ ।
पार्टीले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकामा चैत मसान्तभित्र राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने र वैशाख ५ देखि १० गतेसम्म केन्द्रीय कमिटीमा छलफल गर्न कार्यक्रम थियो। तर, वैशाख ५ गते बैठक बसेको केही समयमै १० गते बिहीबारसम्म स्थगित गरिएको थियो ।