युनियनको उम्मेदवार पोषण केसी

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते १२:५५ मा प्रकाशित

Poshan-KC1279978415काठमाण्डु, ८ बैशाख –  प्रजातन्त्रवादी सञ्चारकर्मीहरुको संस्था नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको यही वैशाख २० र २१ गते हुने महाधिवेशनमा पत्रकार पोषण केसीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

युनियनको आजसम्पन्न कार्यसम्पादन समितिको बैठकले लामो छलफलपछि अध्यक्षका छ जना आकाङ्क्षी मध्येबाट केसीको नाम सर्वसम्मत रुपमा चयन गरेको युनियनका अध्यक्ष किरण पोखरेलले घोषणासभामा जानकारी गराए ।

अध्यक्ष पोखरेलले महासङ्घको आगामी महाधिवेशनमा अन्य सङ्घसंगठनहरुसँग सहकार्यका लागि वार्ता भैरहेकाले अरु पदाधिकारी तथा सदस्य उम्मेदवारहरुको नाम एक-दुई दिनमा सार्वजनिक गरिने बताए ।

घोषणासभामा वरिष्ठ पत्रकार एवम् महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीले यतिखेर महासङ्घमा श्रमजीवी पत्रकारहरुका हकहितमा काम गर्ने नेतृत्वको आवश्यकता भएको बताए ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार केसीले आफू विगत लामो समयदेखि श्रमजीवी पत्रकारहरुको हकहितका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका पक्षमा निरन्तर  काम गर्दै आएको र आगामी दिनमा पनि थप उत्साहका साथ अगाडि बढ्ने प्रण गरे ।

सभामा महासङ्घका पूर्व केन्द्रीय अध्यक्षहरु सुरेश आचार्य, तारानाथ दाहाल र विष्णु निष्ठुरी, युनियनका पूर्व केन्द्रीय अध्यक्षहरु रमेश तुफान र कुलचन्द्र वाग्ले, युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीलगायतको उपस्थिति रहेको थियो ।

महासङ्घ अध्यक्ष पदका अन्य आकाङ्क्षी उम्मेदवारमा  दामोदरप्रसाद दवाडी, रामप्रसाद दाहाल, सुभाष ढकाल र समिरजंग शाह थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us