काठमाण्डु, ८ वैशाख – बिराटनगरमा आगामी बैशाख १८ गतेदेखि गर्ने भनिएको राष्ट्रिय सम्मेलन सार्ने बिषयमा एकीकृत नेकपा माओवादीभित्र परामर्श सुरु भएको छ ।
केही साता सम्मेलन सार्नका लागि केन्द्रीय सदस्यहरुले नेतृत्वलाई तीब्र दवाव दिएपछि परामर्श सुरु भएको हो । सम्मेलन सार्ने विषयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई सहितका नेताहरुले आन्तरीक छलफल गरेका छन् ।
बैशाखमासको उघुम गर्मी गर्ने स्थान बिराटनगरमा सम्मेलन गर्न नहुने, पत्रकार महासंघको चुनाव पनि त्यही समयमा पर्ने भएकाले सार्नुपर्ने भन्दै केही नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । पत्रकार महासंघको चुनाव पनि बैशाख २० गतेदेखि काठमाण्डुमा सुरु हुदैछ ।
‘अहिले बिराटनगरमा ३७ डिग्रि सेल्सियस गर्मी छ, त्यो बेला ४२ भन्दा माथि जान्छ’, अर्को पत्रकार महासंघको पनि चुनाव भएकाले सम्मेलन एक हप्ता पर सर्न सक्ने एक नेताले बताए ।
पुर्वमा नै सम्मेलन गर्ने भए भेडेँटार, जिरी लगायतका स्थानमा गर्न पनि आफूहरुले नेतृत्वलाई सुझाव दिएको उनले बताए । नेतृत्वले पनि यस बिषयमा छलफल गरेर जवाफ दिने बताएको ती नेताको भनाइ छ ।
बिराटनगरमा गर्ने भनिएको सम्मेलनमा मुलुकभरीका पार्टी प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ५०० भन्दा बढीको सहभागिता रहने एकीकृत माओवादीले जनाएको छ ।