
काठमाण्डु, ७ वैशाख – रोयल्टी र जरिवाना वापतको रकम नबुझाएका तथा नविकरण नगरेर गैरकानूनी ठहरिएका क्यासिनो आजबाट बन्द भएका छन् । क्यासिनो बन्द भएसँगै तिनमा कार्यरत करिब ११ हजार कर्मचारी बेरोजगार बन्न पुगेका छन् ।
विभिन्न क्यासिनोहरुले रोयल्टी र जरिवानावापत सरकारलाई १ अर्ब ६ करोड रुपैयाँ बुझाउन बाँकी छ । पटक पटक म्याद दिंदा पनि नविकरण नगरेपछि सरकारले क्यासिनोहरुलाई गैरकानूनी घोषित गरी बन्द गरेको हो ।
सरकारले गैरकानूनी घोषित गरेसँगै प्रहरीको टोली आइतबार विहान क्यासिनोहरुमा पुगेको थियो । यद्यपि, महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली क्यासिनो वाहिरैबाट फर्किएको छ । वृत्तका प्रमुखको नेतृत्वमा गएको टोली दरबारमार्गस्थित रोयल क्यासिनो र अन्ना क्यासिनोभित्र प्रवेश नै नगरी फर्किएको हो । प्रहरी टोली पुग्दा दुवै क्यासिनोमा कर्मचारीहरु थिए ।
वृत्त प्रमुखको टोली सरकारले अवैध घोषित गरेकाले जुवा खेलाउने काम नगर्न र अनुमति लिएर मात्र जुवा खेलाउन आग्रह गर्दै ढोकैबाट फर्कियो । काठमाडौमा ८ वटा र पोखरामा २ वटा क्यासिनो संचालनमा रहेकामा सरकारले केहि महिना पहिले राजस्व र रोयल्टी रकम बढाइ जारी गरेको क्यासिनो नियमावली २०७० का कारण सबै क्यासिनो बन्द भएका हुन् । क्यासिनोहरुले सरकारका अलावा आफ्ना कर्मचारीलाई पनि करोडौं रुपैयाँ तिर्न बाँकी छ ।