चालिस प्रतिशत बालबालिका श्रमको जोखिममा

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते ७:५५ मा प्रकाशित

भक्तपुर, ७ वैशाख –  महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव तथा बालबालिका शाखा प्रमुख डा किरण रुपाखेतीले नेपालमा ४० प्रतिशत बालबालिका प्रत्यक्षय रुपमा श्रमिक रहेको बताएका छन् ।

भक्तपुर जिल्लालाई आगामी पाँच वर्षभित्र बालश्रममुक्त जिल्ला बनाउने अभियान सुरु भएको बेलामा बाल विकास समाजले आज आयोजना गरेको बालश्रम न्यूनीकरणका लागि इँटाभट्टामा कार्यरत मजदुरको प्रथम सम्मेलनमा उनले बालबालिकासम्बन्धी विभिन्न समयमा बनेका बालश्रम निषेध ऐन तथा कानुनमा १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि किसिमको काम लगाउन निषेध गरे पनि नेपालमा हाल छ लाख २० हजार बालबालिका जोखिमपूर्ण श्रममा रहेको बताउँदै बालश्रममा लगाउँदा हुने सजाय र कानुनी प्रावधानका बारेमा चेतना जगाउनुपर्ने बताए ।

कार्यक्रममा श्रम विभागका निर्देशक वरुणकुमार झाले व्यवसायजन्य सुरक्षाका बारेमा चेतना फैलाउन सकेको खण्डमा इँटाभट्टाका बालबालिकाको स्वास्थ्यमा आउने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले केही दिन अघिमात्रै भक्तपुरका चार होटेलका १६ बालबालिकाको उद्धार गरी उनीहरुलाई श्रममा लगाउनेलाई कानुनी दायरामा ल्याइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us