
बुटवल, २१ असार– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ नेकपाको पोलिटब्युरो गठन नहुन सक्ने बताएका छन् ।
नेकपा स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले पोलिट्ब्युरो गठन नहुँदैमा पार्टी संगठन गतिशील हुँदैन भन्ने कुरा गलत रहेको उल्लेख गरे । ज्ञवालीले पार्टी एकीकरणका अधिकांश काम सम्पन्न भइसकेको दाबी गरे । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढेका कारण एकीकरणमा ढिलाइ भइरहँदा ज्ञवालीको यस्तो भनाइ बाहिर आएको हो । पार्टी एकीकरणको १४ महिना हुनै लाग्दा नेकपामा पोलिट्ब्युरो र विभाग बनेको छैन भने केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन । ‘पोलिट्ब्युरो नबन्न पनि सक्छ’, बुटवलमा आयोजित नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलामा शनिबार ज्ञवालीले भने, ‘पोलिट्ब्युरो नहुँदैमा पार्टीले कामै नगर्ने होइन ।’ नेकपामा ९ सदस्यीय केन्द्रीय सचिवालय (हृडक्वार्टर) र ४५ सदस्यीय स्थायी समिति छ ।
अर्को प्रसंगमा उनले सरकारलाई कर्मचारीले सहयोग नगरेको आरोप लगाए । परिर्वतनबाट आएको शक्तिको नेतृत्वमा सरकार बनेको र पूरानै ढर्रामा बस्न चाहने कर्मचारी रहेकाले जनताका अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको जिकिर गरे ।