सिङ्गापुरलाई पराजित गर्दै नेपाल समूह ए’ को विजेता

काठमाण्डु टुडे २०७६ असार २० गते १७:०७ मा प्रकाशित

एसिसी यु-१९ पूर्वी क्षेत्र इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ए’ को विजेता बनेको छ ।
मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग-यो ।
पराजित सिङ्गापुर पनि समूह ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए’ मा नेपालसहित सिङ्गापुर र चीन छन् । यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई र सिङ्गापुरले पनि चीनलाई नै पराजित गरेको थियो । दुई खेल खेलेको चीन दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनाएको थियो । नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए । एकसय ३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित ११५ रन जोडेका हुन् । त्यसैगरी खडक बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us