
काठमाण्डु, १६ असार– सत्तारुढ नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व र पार्टी सिद्दान्त जनताको जनवाद हुने कि नहुने भन्ने विवादका कारण आफूहरुबीच बढेको दुरी साँघुरिएको संकेत गरेका छन् ।
पार्टी संसदीय दलको सोमबारको बैठकमा दुवै अध्यक्षले आफूहरु मिलेर अघि बढ्ने बताए । नमिल्दा पार्टी र आफूहरु नै सिद्धिने भएकाले मिलेर अघि बढ्नुको विकल्प नरहेको उनीहरुको भनाइ थियो । बैठकमा सांसदहरुले पार्टी नेतृत्वका सार्वजनिक अभिव्यक्तिले दुई पार्टीबीचको एकता दिगो नहुने हो कि भन्ने आशंका पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । प्रचण्डले पार्टी एकताका बाँकी काम पूरा गर्न आफूहरु मिलेर अघि बढ्न तयार रहेको बताए । उनले पार्टी एकतामा अनर्थ अर्थ लाग्ने गरी आफूले कहीं कतै बालेको भए फिर्ता लिने जनाए । प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली मिलेरै सबै काम गरिरहेको उल्लेख गरे ।
सबै एउटै डुंगामा सवार रहेकाले ढुंगा डुब्दा सबै डुबिने उनको भनाइ थियो । ‘हामी एउटै डुंगामा छौं’, उनले भने, ‘डुबै सबै सँगै डुब्छौं, उत्रिए सबै उत्रिन्छौ ।’ प्रधानमन्त्री ओलीले पनि आफूहरु मिलेर अघि बढ्न नसके सिद्धिने उल्लेख गरे । ओलीले वर्तमान सरकार पाँच वर्ष टिक्ने उल्लेख गरे । ओलीले माइतीघरमा केही मानिस उफ्रिंदैमा सरकार नढल्ने स्पष्ट गरे । सरकारले राम्रो काम गरिरहेको जिकिर गर्दै ओलीले सरकारमाथिका अनावश्यक लाञ्छनाहरुको प्रतिकारमा उत्रन सांसदलाई आग्रह गरे ।