यातायातमन्त्रीलाई चेम्बरले लेख्यो यस्तो पत्र

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – उपत्यकामा मालवाहक सवारीसाधनहरूलाई सञ्चालन तथा प्रवेशमा रोक लगाइएको सरकारी नियममा नेपाल चेम्बर अफ कमर्शले असहमति जनाएको छ । चेम्बरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई पत्र लेखेर नयाँ सरकारी नियमले उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा असर पर्ने भन्दै यसलाई सच्याउन माग गरेको हो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पठाएको पत्रमा नयाँ व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरु तथा निर्माण सामाग्रीको राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने उल्लेख छ ।

बेलुका ७ बजेपछि ढुवानी गर्न लोड–अनलोड गर्ने श्रमिकको अभाव, खुद्रा पसल बन्द भई सक्ने, सुरक्षाको प्रत्याभूति आदि कारणले व्यवधान गर्ने चेम्बरको दाबी छ ।

यसअघि, यातायात व्यवस्था विभागले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज–सरल तुल्याउन भन्दै सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजे देखि बेलुका ७ बजेसम्म आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएको बाहेक अन्य मालवाहक सवारीसाधनहरुलाई सञ्चालन तथा प्रवेशमा रोक लगाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us