
सोलुखुम्बु, ५ वैशाख – सगरमाथाको आधार शिविर र शिविर–१ बीचमा हिमपहिरोमा परी आज बिहान १२ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी नाम्चेका कार्यक्रम अधिकृत कपीन्द्र राईका अनुसार बिहान ७ बजेतिर आधार शिविरबाट शिविर–१ का लागि भारी लिएर गएका १५ जनाको टोली हिमपहिरोमा परेको हो । मृतक मध्ये १२ जनाको शव निकालिसकेको प्रहरी प्रमुख डिएसपी बद्रीबिक्रम थापाले जानकारी दिए ।
अल्पाइन एसेन्टलगायत दुई – तीन कम्पनीका नेपाली शेर्पा सो दुर्घटनामा परेको र विदेशी कोही पनि नपरेको प्रजिअ सीताराम कार्कीले जानकारी दिए ।
अहिले त्यस क्षेत्रमा हिमपहिरो गइरहेको र मौसम अनुकूल नभएकाले उद्धारमा कठिनाइ भइरहेको कार्कीले बताए । पहिरोमा परी गम्भिर घाइते भएका सोलु वाकुका २४ वर्षिय फुरी शेर्पा सहितकालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । घटनास्थल सदरमुकामबाट ७ दिन पैदलबाट पुग्न सकिन्छ ।