किन स्थगित भयो नेकपा सचिवालय बैठक ?

काठमाण्डु टुडे २०७६ जेठ २३ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – गृहकार्य नपुगेको भन्दै बिहीवार बिहान बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

file photo

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीन दिनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष युरोप भ्रमणमा जान लागेकाले उनी फर्केपछि मात्रै यो विषयको टुंगो लाग्ने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए । ओली पर्सी (जेठ २५ गते) युरोप भ्रमणमा निस्कनेछन् र जेठ अन्तिममा मात्र फर्किनेछन् ।

पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा माधवकुमार नेपाल सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्नका लागि सचिवालय बैठक बिहीवार बिहान ९ बजेका लागि तय गरिएको थियो ।

मंगलवार र बुधवार लगातार बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक बिहीवारसम्मको लागि स्थगित गरिएको थियो ।

बुधवारको बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले बिहीवार कुनै सहमति हुने दाबी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us