
काठमाण्डु, १५ जेठ – उपत्यकाको ट्राफिक जामलाई कम गर्न सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ । तीनकुने–जडिबुटी र कोटेश्वर सुरुङ मार्ग निर्माण गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणबाट जानकारी दिए ।
त्यस्तै नयाँ बानेश्वरमा अण्डरपासका लागि बजेट बिनियोजन गरिएको छ । सडकमा संकेत बत्ती राख्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
बजेटमा सार्वजनिक सवारीमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्ने समेत उल्लेख छ । अर्थमन्त्री युवराज खतिवडाले सर्वासाधरणको सहजको लागि सार्वजनिक सवारी कार्ड व्यवस्था लागू गर्नेगरी काम भइरहेको जनाएका छन् । त्यस्तै, यात्रुलाई निर्धारित समयमा नै चढ्ने र ओराल्ने व्यवस्था समेत गरिने जानकारी दिए । सवारी अवस्था बुझ्न प्रत्येक सवारीमा जिपिएस जडान गर्नेसमेत बजेट वक्तव्यमा उल्लेख छ ।