प्रधानमन्त्री कप क्रिकेटः एपीएफसँग सुदूरपश्चिम हार्याे, प्रदेश ३ को पहिलो जित

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – विभागीय टिम एपीएफले काठमाण्डुमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको समूहको चरणको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रन बनायो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए भने विपिन रावलले २१ रन जोडे । त्यस्तै खडक बोहराले १९ रनको योगदान दिए ।

बलिङतर्फ एपीएफका लागि अविनाष बोहराले दुई विकेट लिए त्यस्तै शरद भेषवाकर, पृथु बाँस्कोटा र भुवन कार्कीले समान एक–एक विकेट लिए । सुदूरपश्चिमका पाँच जना खेलाडी रनआउट भएका थिए ।

१ सय २६ रनको लक्ष्य एपीएफले ३४ दशमलव ४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफको जितमा शरद भेषवाकरले २६ रन बनाए भने सन्दीप जोराले २२ तथा सुमित महर्जनले १५ रनको योगदान गरे । त्यस्तै कप्तान पृथु बाँस्कोटाले अविजित ३४ रन बनाए ।

३६ रनमा पहिलो विकेट गुमाएको एपीएफले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि एपीएफले स्कोरबोर्डमा ६९ रन बनाउँदा ५ विकेट गुमाउन पुग्यो । एपीएफका आसिफ शेख तीन, शंकर राना एक तथा भुवन कार्की जम्मा दुई रनमा आउट भए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि विनोद लामाले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई विकेट लिँदा विकाश अग्री र नरेन्द्र साउदले समान एक–एक विकेट लिए ।

पारस खड्काको टिमको पहिलो जितः

त्यस्तै आजै भएको खेलमा पारस खड्काको टोली प्रदेश ३ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले दुई अंक जोेडेको हो । प्रदेश ५ ले दिएको १ सय २३ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us