
काठमाण्डु, ५ जेठ – महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको २९ लाख ९८ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही साविक हेमपुरका २८ वर्षीय रविन्द्र राय रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर खड्का नेतृत्वको टोलीले चन्द्रागिरी नपा– २ नागढुंगास्थित जनकपुरबाट काठमाण्डुतर्फ आउँदै गरेको ना ८ ख १८०९ नम्बरको यात्रुवाहक बस चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका रायलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।