गुमनाम रहेका इरानी नेता खामेनी सार्वजनिक, अमेरिका र इजरायललाई दिए चेतावनी

काठमाण्डु टुडे २०८२ असार १३ गते ८:१० मा प्रकाशित

एजेन्सी– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी लामो समयपछि सार्वजनिक भएका छन् । इराकसँग युद्धविरामपछि पनि सार्वजनिक रूपमा नदेखिएको भन्दै उठेका प्रश्नहरूबीच उनले टेलिभिजनमार्फत सम्बोधन गरेका हुन् ।

यद्यपि, सम्बोधन पहिल्यै रेकर्ड गरिएको थियो भन्ने खुलेको छैन । खामेनी गाढा पर्दाको अगाडि, इरानी झण्डा र अयातोल्लाह खोमैनीको तस्वीरबीच बसेर सम्बोधन गरिरहेका थिए । सम्बोधन गरिएको स्थानबारे कुनै जानकारी नदिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इजराइलसँगको युद्ध उत्कर्षमा पुगेको बेला खामेनी गम्भीर सुरक्षाबीच भूमिगत बंकरमा सुरक्षित राखिएको चर्चा थियो । त्यतिबेला उनको अवस्थाबारे अनेक अड्कलहरू लागिएको थियो । उनी घाइते वा मारिएको समेत हुनसक्ने चर्चा इरानभित्र मात्र नभई अन्तर्राष्ट्रिय रुपमै चलेको थियो ।
खामेनी सार्वजनिक रूपमा देखिएपछि इरानी जनताले राहत महसुस गरेका छन् । टेलिभिजन सम्बोधनका क्रममा उनले इरानको युद्धमा विजय भएको दाबी गरे ।
उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथिको हमलालाई निर्णायक मोडको रूपमा चित्रण गर्दै भनेका छन्, ‘हामीले मुख्य अमेरिकी अड्डालाई आक्रमण गरेर तिनीहरूलाई स्पष्ट सन्देश दिएका छौं ।’

खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति प्रतिक्रिया दिँदै इरानले कहिल्यै आत्मसमर्पण नगर्ने चेतावनी दिए । ‘ट्रम्पले इरानले आत्मसमर्पण नगरेसम्म सन्तुष्ट हुने छैनन् भनेका छन्, तर त्यो उनको आकांक्षा कहिल्यै पूरा हुने छैन’ उनले भनेका छन् ।

अमेरिका पुनः आक्रमणमा उत्रिए मध्यपूर्वस्थित उसका प्रमुख सैन्य केन्द्रहरूमाथि इरानले हमला गर्नेछ । फेरि आक्रमण गरियो भने करातको जस्तै जवाफ दोहोरिन सक्ने उनले चेतावनी दिए ।
ट्रम्पले इरानको आणविक कार्यक्रम पुनः सुरु भए आक्रमण गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा खामेनीले इरानी आणविक केन्द्रमाथि अमेरिकी हमलाले खासै क्षति गर्न नसकेको बताए ।
फर्दो, नतान्ज र इस्फहानजस्ता स्थानहरूमा आक्रमण भए पनि अमेरिकी प्रयास खासै सफल नभएको उनको भनाइ छ ।
ट्रम्पले यी संरचना पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरे पनि अमेरिकी गुप्तचर संस्थाको प्रारम्भिक रिपोर्टमा समेत थोरै मात्र क्षति भएको उल्लेख छ।

उनले सम्बोधनको अन्त्यतिर अमेरिका प्रत्यक्ष रूपमा संलग्न नभएको भए इजरायल पूर्ण रूपमा ध्वस्त हुने सम्भावना रहेको पनि बताए । इरानी हमलाले इजराइयली सुरक्षा प्रणालीलाई भत्काएपछि अमेरिकाले हस्तक्षेप गरेको उनले बताए । ‘अमेरिकाले हस्तक्षेप नगरेको भए इजरायल अहिलेसम्म अस्तित्वमै नहुन सक्थ्यो’, खामेनीले भने ।
खामेनीको सम्बोधन सार्वजनिक भएलगत्तै इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग हात मिलाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी हाम्रो साझा शत्रु विरुद्ध सँगै लडिरहनेछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us