अब शिक्षकलाई दुई सय पूर्णाङ्कको परीक्षा

काठमाण्डु टुडे २०७६ जेठ ३ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – शिक्षक सेवा आयोगले दुई सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्ने भएको छ । स्थायी शिक्षक बन्न एक सय पूर्णाङ्कको परीक्षा पास गरे पुग्ने प्रावधान रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावली संशोधन गरेर दुई सय पूर्णाङ्कको परीक्षा व्यवस्था गर्न लागेको हो ।

संशोधनको मस्यौदामा सय–सय पूर्णाङ्को परीक्षा दुई चरणमा गर्ने उल्लेख छ । मन्त्रिपरिषद्बाट उक्त नियमावली पास भएपछि कार्यान्वयनमा आउनेछ ।

नियमावली संशोधनमा स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रावधान पनि परिवर्तन गर्न लागिएको छ । जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला शिक्षा अधिकारीहरूले स्थायी शिक्षकको बढुवालगायत आन्तरिक मूल्यांकन गर्दै आएका छन् ।

संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएकाले स्थानीय शिक्षा विभागमार्फत नै शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रबन्ध गर्न लागिएको हो ।

विभागले गरेको आन्तरिक मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाई हुँदै आयोगसम्म आइपुग्ने व्यवस्था संशोधित नियमावलीमा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us