नुवाकोटमा कुलमान कड्किए, विरोधी पछि हटे

काठमाण्डु टुडे २०७६ जेठ ३ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए । फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए ।

पहिरेबेसीमा त्रिशुली थ्री ए बी हब सब स्टेशन निर्माण भैरहेको छ । तर पछिल्ला दुई दिनदेखि काम रोकिएको थियो । गाडी रोक्न लगाएर कुलमान आयोजनास्थलमा पुगे । कुलमान आएको थाहा भएपछि स्थानीय पनि जम्मा भए ।

नदीको बगरमा बनिरहेको सब स्टेशनमा जग्गाको मुआब्जा विवाद थिएन । नदी कटानबाट स्टेशनलाई जोगाउन वाल लगाउने काम भइराखेको थियो । काम रोकिएको देखेपछि कुलमानले सोधिखोजी गरे । नुवाकोटतर्फ बनिरहेको आयोजनामा रसुवातर्फको स्थानीयको नाममा अवरोध भएको थाहा पाएपछि कुलमान स्थानीयसँग रिसाए ।

रसुवातर्फको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूहले सबस्टेशन अझै माथि लगेर निर्माण गर्न कुलमानसँग माग गरे । तर उनीहरुसँग कुलमान झनै कड्किए । उनले अध्यक्ष भट्टराईलाई कसैले काम रोके तपाईलाई नै जेल हालिदिन्छु भन्दै आक्रोश पोखे ।

घिसिङले सबस्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताए । उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताए ।

भट्टराईले आफूहरु विकास विरोधी नभएको तर, जनताको माग सम्बोधन हुनुपर्ने बताए । कुलमानले भने, ‘तपाईको माग भन्नुस् न, जनताको होइन । जनताको माग समाधान गर्छौं हामी ।’

कुलमान कड्किए, ‘एक दिन कसैले रोक्यो भने तपाईंलाई समातेर थुनिदिन्छु ।’

आयोजनाले ठेक्का विवादमा स्थानीय भट्टराईले स्थानीयलाई भड्काएको आरोप लगाएको छ । साथै काममा अवरोध हुन सक्ने भन्दै रसुवा र नुवाकोट दुबै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा किटानी जाहेरी दिएको छ ।

किटानी जाहेरीपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले आयोजना स्थलमा सुरक्षा दिन थालेका छन् । त्रिशुलीको थ्री बी हब निर्माण विद्युत प्राधिकरणलाई आउँदो पुसको मध्य भित्रै सक्नुपर्ने दबाब छ ।

सब स्टेशन निर्माण पूरा नभए प्राधिकरणले दैनिक करोडौं रकम जरीवाना तिर्नुपर्नेछ । १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको सान्जेन, १४ माथिल्लो सान्जेनको विद्युत यहि सब स्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । आयोजना निर्माण पुरा हुँदा समेत प्राधिकरणले स्टेशन र प्रशारण लाइन नबनाए क्षतिपूर्ति तिर्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us