रञ्जित तामाङ भन्छन्– नेताहरुले ममाथि अन्याय गरे

काठमाण्डु टुडे २०७६ जेठ २ गते २२:४९ मा प्रकाशित

काठमाण्डु, २ जेठ– आफूलाई विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्ट बनेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अखिल महासचिव ऐन महरलाई संयोजक बनाइएपछि तामाङ नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । नेकपा सचिवालयले महरलाई संयोजक र तामाङले चाहेमा उनलाई सह–संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यद्यपि तामाङले आफूमाथि अन्याय भएकाले सह–संयोजककोजिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सोचेर लिने काठमाण्डुटुडेलाई बताए । उनले एकता गर्दा विधि, प्रक्रिया र पद्दति मिचिएको उल्लेख गरे । अरु जनवर्गीय संगठनमा हाल अध्यक्ष रहेकालाई संयोजक र सह–संयोजक बनाइए पनि अखिलमा भने महासचिवलाई संयोजक तोकिएपछि विवाद देखिएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले नावीना लामालाई नै अध्यक्षमा निरन्तरता दिनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले महरकै नाममा अडान लिए । महरभन्दा तामाङ विद्यार्थी राजनीतिमा सिनियर हुन् ।

तामाङले वरिष्ठता, योग्यता र क्षमतालाई उपेक्षा गरेर पार्टी नेतृत्वले निर्णय लिएको आरोप लगाए । ‘विधि, प्रक्रिया र पद्दतिविपरीत निर्णय गरियो’, तामाङले भने, ‘एकतामा ममाथि अन्याय भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us