सागमा नेपालले २७ वटै खेलमा सहभागी हुने

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – आगामी मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले २७ वटै खेलमा सहभागिता जनाउने भएको छ ।

युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मन्त्री विश्वकर्माले खेलका इभेन्ट र सहभागी खेलाडीहरुको संख्या भने केही दिनमा टुंगो लाग्ने बताए ।

१३औं यसअघिकै संस्करणमा समावेश २५ खेल र आयोजकका नाताले नेपालले २ खेल गरी २७ खेलका प्रतिस्पर्धा हुदैँछ । सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराँते, गल्फ, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल खेल खेलाइदैँछन् ।

यस्तै तयारी तथा व्यवस्थापन समितीको बैठले लोगो र मस्कटको टुंगो लगाएको मन्त्री विश्वकर्माले जनाए । केही दिनमा औपचारिक कार्यक्रम आयोजना गरेर नै लोगो र मस्कट सार्वजनिक गर्ने तयारी मन्त्रालयको रहेको छ ।

यस्तै, बैठकले सागमा सहभागी हुने राष्ट्रको सहभागिता निश्चितताका लागि औपचारिक निमन्त्रणा पत्र पनि पठाउने, १३औं सागमा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राख्ने लगायतका निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us