सभामुखलाई देउवाले काँतर भनेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिलाई सभामुखले नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको जागरण अभियानको सन्दर्भमा आज राजधानीमा सम्बोधन गर्दै देउवाले हिजो संसदमा भएको घटनाबारे बोल्दै सभामुखलाई डरपोकको संज्ञा दिएका छन् ।

‘हिजो संसदमा देखिहाल्नु भो । गैरसंसदीय शब्द डिलिट गर्नु भनेको डरपोक, काँतर सभामुखले सकेनन्,’ देउवाले भने, ‘इतिहासमै काँतर सभामुख रहेछन् ।’

संसदमा मेरो सरकार, हर मेजेस्ट्री जस्ता शब्दहरु भित्रिन थालेको विषयलाई उनले कडा रुपमा आलोचना गरे । ‘कम्युनिस्टले बिस्तारै जे पायो त्यही बोल्न थालिसके,’ देउवाले भने, ‘सदन त विपक्षीको भनिन्थ्यो । तर, सभामुखले गरिमा राख्न सकेनन् ।’

उनले हरेक क्षेत्रमा कम्युनिस्ट सरकारले हस्ताक्षेप गर्न थालेको दावी गरे । त्यसविरुद्ध २००७ साल, पञ्चायत र राजाविरुद्ध लडे झै लड्न तयार भएको दावी गरे ।

‘कुर्सी भाच्ने, रेलिङ भाच्ने पार्टी होइन हाम्रो,’ उनले कांग्रेसको जागरण अभियान थाल्नुको कारण दिँदै भने, ‘अब कम्युनिस्टबाट मुक्तिका लागि आन्दोलन गर्नुपर्ने दिन आउनसक्छ । जागरण यसैका लागि हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us