अमेरिकासँग नझुक्नूः राष्ट्रपति सी

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १२:३५ मा प्रकाशित

एजेन्सी । दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच झन्डै ८ महिनादेखि जारी व्यापार युद्ध तत्काल नटुंगिने छाँट देखिएको छ ।

अहिलेसम्म वासिङट्न र बेइजिङमा १० पटक वार्ता भएका छन् । अर्को वार्ता यही साता वासिङट्नमा हुँदैछ । उक्त वार्तामा चिनियाँ उपप्रधानमन्त्री लिऊ हे पनि सहभागी हुँदैछन् । तर यो वार्ताबाट सुखद परिणाम निस्केन सम्भावना भने झिनो छ ।

दुबै पक्षले परिणामोन्मुख भनिरहेको वार्ता प्रक्रियालाई यही साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धिमा गतिमा चलेको र चिनियाँ पक्ष आफ्नो पहिलाको प्रतिवद्धताबाट पछि हटेको बताए । वार्ता नटुंगिए आगामी शुक्रबारदेखि थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने उनको घोषणा छ ।

चीनबाट अमेरिका आउने थप ३२५ अर्ब डलरका सामान पनि करमुक्त नहुने ट्रम्पको भनाइ छ । कतिपयले ट्रम्पको यो घोषणा वार्ताका क्रममा चीनलाई झुकाउने रणनीतिका रूपमा अर्थ्याएका छन् ।

चिनियाँ पक्षले भने ट्रम्पको यस्तो घोषणाले व्यापार वार्तामा आफूहरू नझुक्ने स्पष्ट सन्देश दिएको छ । राष्ट्रपति सी चिनफिङले व्यापार वार्ताकारहरूलाई अमेरिकासँग नझुक्न भनेका छन् ।

व्यापार वार्ताकारहरूले अलि वार्ताको नरम प्रस्ताव सीसमक्ष पेस गरेका थिए । तर सीले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै व्यापार वार्ता असफल भए अमेरिकाले बढाउने करपछिको सम्भावित आर्थिक परिणामको जिम्मा आफूले लिने बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले ट्रम्पको घोषणा पछि चीन पछि हट्छ भन्ने कुरा अमेरिकाले नसोचे पनि हुने टिप्पणी प्रकाशित गरेको छ ।

‘राष्ट्रपति सी र उनको प्रशासन अडिग छ, चुनौतीको सामना गर्नबाट पछि हट्ने कुनै संकेत देखाएको छैन,’ राजनीतिक विश्लेषक चेन दाओयिनले भने, ‘सीको चीनलाई बलियो राष्ट्र बनाउने सपनाले पनि उनका सहकर्मीहरूको बाहिरी विषय सुल्झाउन चाहिने क्षमता र लचकतालाई सीमित पारेको छ ।

उनले पछिल्लो दुई महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोले व्यापार युद्धलाई प्राथमिकता दिएर छलफल नगरेकाले राष्ट्रपति सी पछि हट्ने पक्षमा नरहेको देखिने बताए ।

‘भर्खरै भएको पोलिटब्युरो बैठकले गत फेब्रुअरीमा जस्तो आर्थिक स्थिरतालाई केन्द्रमा राखेर छलफल गरेन। यसले के देखाउँछ भने अमेरिकी करले चिनियाँ अर्थतन्त्रलाई तहनहस पार्न सक्दैन भन्ने उनीहरूको बुझाइ छ,’ चेनले भने ।

चीनले आगामी अक्टोबरमा जनगणतन्त्रको ७० औं वर्षगाँठ मनाउँदै छ । एसिया, अफ्रिका र युरोपलाई जल र जमिनले जोड्न बेल्ट एन्ड रोड परियोजना ल्याएका सीले यो वर्ष चीनको हार भएको सन्देश जाने कुनै किसिमका सम्झौता गर्न चाहँदैनन् । त्यसैले उनले वार्ताकारलाई नझुक्न भनेका हुन् ।

यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो ।

तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन । अमेरिका यसअघि पनि चीनले सहमति गरेको तर कार्यान्वयनमा उदासिनता देखाएको भन्दै यसपालि बलियो कार्यान्वन प्रणाली बनाउने पक्षमा छ । त्यसको अर्थ चीनले सम्झौता अक्षरशस् पालना नगरे अमेरिका आफैंले दण्डित गर्न सक्ने हो । तर चिनियाँ पक्षले यसलाई आफ्नो सार्वभौमिकतासँग जोडेको छ । चिनियाँ व्यापारबारे अमेरिकाले निर्णय गर्ने प्रणाली हुनुभन्दा सहमति नै नभए पनि आफ्नो अर्थतन्त्र चल्न सक्ने निष्कर्षमा चीन पुगेको देखिन्छ ।

‘यदि चीनले संरचना गत परिवर्तन र कार्यान्वयन प्रणालीमा अमेरिकाका मागलाई स्वीकार्नु पर्यो भने राष्ट्रवाद उदाइरहेको चीनका लागि लज्जाजनक हुनेछ,’ राजनीतिक विश्लेषक चेनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us