
एजेन्सी – एक सैनिक उत्कृष्ट दृश्य हेर्ने चक्करमा ज्वालामुखीको ७० फिट गहिरो खाल्डोमा खसेका छन् । बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो ।
अधिकारीका अनुसार ३२ वर्षका सैनिक उत्कृष्ट दृश्य हेर्नका लागि रेलिङमा चढेका थिए । उनलाई ७० फिट गहिरो खाल्डोबाट निकालिएको छ तर उनी नराम्रोसँग घाइते भएका छन् ।
सैनिकको नाम सार्वजनिक गरिएको छैन तर उनी ओहूको स्कोफिल्ड बराक्सको बासिन्दा बताइएको छ । उनी हवाई आइल्याण्डमा एक अभ्यासमा भाग लिइरहेका थिए । स्थानीय अधिकारीका अनुसार घटना करिब साढे ६ बजेको हो ।
एक प्रत्यक्षदर्शीले अधिकारीलाई यसबारे जानकारी दिएपछि जवानको उद्दार कार्य तत्काल सुरु गरिएको थियो । सैनिकलाई उक्त खाल्डोबाट राती ९ बजेर ४० मिनेट जाँदा निकालिएको जानकारी दिइएको छ । ती व्यक्तिलाई खाल्डोबाट निकालेपछि हवाई यात्रा गराएर हिलो मेडिकल सेन्टर पुर्याइयो ।
हवाई भोल्क्यानोज नेशनल पार्कका प्रमुख रेन्जर जोन ब्रोवार्डले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘पर्यटकहरुले कहिले पनि सुरक्षाका लागि बनाइएका बार पार गर्ने कोसिस गर्नुहुँदैन । यस्तो गर्नु खतरनाक हुनसक्छ र मानिसको मृत्यु पनि हुनसक्छ ।’