
काठमाण्डु, २४ बैशाख – नेपाल महिला फुटबलर सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु एफसीले भारतमा जारी महिला लिगको पहिलो खेलमा जित निकालेको छ । सावित्राको सानदार प्रदर्शनमा सेतु एफसीले मणिपु पुलिसलाई ६–४ ले हरायो ।
पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस क्लवविरुद्ध खेलको ३५ मिनेट भित्र नै ह्याट्रिक गर्न सफल भइन् । उनले खेल सुरु भएको २९ सेकेण्डमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि १६ औंँ मिनेटमा उनले गोलकिपर अगाडि बढेको मौकाको फाइदा उठाउँदै एक्रोब्याटिक सट प्रहार गर्दै गोल गर्न सफल भइन् ।
त्यसपछि ३४ औं मिनेटमा फेरि उनले एकल प्रयासमा गोल व्यक्तिगत ह्याट्रिक तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यसपछि सेथुले अर्को गोल गर्दा दुई गोल खान पुग्यो । जसका कारण पहिलो हाफमा चार–दुईको अग्रता लिन सफल भयो । दोस्रो हाफमा सावित्रा र अनिता बस्नेतको टिम सेथुले थप दुई गोल गर्दा २ गोल खान पुग्यो ।
नेपाली महिला फुटबलरले पहिलो पटक भारतीय भूमिमा फुटबल लिग खेलिरहेका छन् । यसअघि सावित्रा र अनिता माल्दिभ्समा फुटसल लिग खेलेका थिए । सावित्रा प्लेयर अफ् द म्याच पनि बन्न सफल भइन् ।