काठमाण्डु, १ वैशाख – एकीकृत नेकपा माओवादीले प्रमुख तीन दलको बैठक बहिस्कार गरेको छ ।
फुजेल प्रकरणमा पक्राउ परेका आफ्ना कार्यकर्ताको विनासर्त रिहाई र झुटा मुद्दा फिर्ता लिनु पर्ने मागसहित एमाओवादी शीर्ष नेताहरुले बैठक बहिस्कार गरेका हुन् ।
बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी आफ्ना मागका विषयमा जानकारी गराएर फर्किएको एमाओवादी स्रोतले जनाएको छ ।
बैठकको सुरुमै एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर पक्राउ गर्ने तथा जेल हाल्ने षड्यन्त्र नरोकिएसम्म सरकारसँग कुनै छलफल र सहमति नहुने बताए ।
‘एकातिर सत्य निरुपण आयोग गठनको मस्यौदा तयार पार्ने, अर्कोतर्फ झुटा मुद्दामा हाम्रा कार्यकर्तामाथि धरपक्कड गर्ने काम भएको छ, यस्ता गतिविधि नरोकिएसम्म छलफल र सहमति गर्दैनौं,’ प्रचण्डले बैठकमा भनेको उनका सहयोगी चुडामणि खड्काले जानकारी दिए ।
फुजेल प्रकरण पक्राउ परेका व्यक्तिहरु निर्दाेष भएको भन्दै प्रचण्डले उनीहरुलाई तत्काल रिहा गरेर मुद्दा फिर्ता लिन माग गरे । भोलिसम्ममा उनीहरुलाई रिहा गरेर झुटा मुद्दा फिर्ता नलिए सरकार विरुद्ध मोर्चाबन्दी गरेर सडक र सदनबाट आन्दोलन चर्काउने प्रचण्डको चेतावनी छ । प्रचण्डले आफ्ना कुरा राखेपछि एमाओवादी नेताहरु बालुवाटारबाट बाहिरिएका थिए ।
यसैबीच द्वन्द्वकालीन घटनामा आफ्ना कार्यकर्तामाथि भएको धरपक्कडबारे छलफल गर्न पूर्वपदाधिकारी सम्मिलित एमाओवादी केन्द्रीय कार्यालयको बैठक मंगलबार बस्ने भएको छ । बैठक बिहान साढे ७ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ ।
संविधानसभा अन्तर्गतका समितिहरुमा सभापति चयन, २६ सभाषदको मनोनयन, संवैधानिक निकायहरुमा नियुक्ति लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको थियो ।