काठमाण्डु, १ वैशाख – हृदयाघातका कारण आइतबार राति निधन भएका साहित्यकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिने भएको छ ।
धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा बिहान श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी शव हस्तान्तरण गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।
अधिकारीको आइतबार राति गंगालाल हृदय रोग केन्द्रमा निधन भएको थियो । अधिकारी पञ्चायतकालमा शिक्षा सहायकमन्त्री पनि हुनुभएको थियो ।
विसं १९९९ मा तनहुँको मिर्लुङमा जन्मिएका ७२ वर्षीय अधिकारीका ‘म त लालीगुराँस भएछु…’ लगायत चर्चित गीत छन् । उहाँका ‘रहर लागेर’, पहाडदेखि पहाडसम्म’, फेरि एउटा परिवर्तन’, ‘तर देश रोइरहेछ’ आदि कृति प्रकाशित छन् । अधिकारीका गीतलाई नारायणगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, रामकृष्ण ढकाल आदिले सङ्गीत र स्वरबद्ध गरेका छन् ।
उनको इच्छाअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शव प्रदान गर्न लागिएको र काजक्रिया पनि नगरिने पारिवारिक स्रोतले जनाएको छ । आज शव अस्पतालमै राखिएको छ ।
भेटघाटमा लागि आउने आफन्त अधिकारी निवासमा पुगेका छन् । अधिकारीका दुई छोरा छन् ।
यसैबीच नेपाल पत्रकार महासङ्घ, तराई टेलिभिजन (टिटिभी) प्रतिष्ठान शाखाका अध्यक्ष अशोक रेग्मीले सोमबार प्रेस विज्ञप्ति जारी गरी सो टेलिभिजनका कार्यकारी निर्माता अमनप्रतापका पितासमेत रहेका क्षेत्रप्रतापको निधनमा समवेदना व्यक्त गरेका छन् ।