काठमाण्डु, १ वैशाख – एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।
संगठन विभागको आइतबार बसेको बैठकले राष्ट्रिय सम्मेलनमा विराटगरमा गर्न सिफारिस गरेको हो । बैठकले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्न पार्टी हेर्डक्वाटरसमक्ष सिफारिस गरेको संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए ।
बोगटीले एक/दुई दिनभित्रै केन्द्रीय कार्यालयको बैठक बसेर त्यसबारे निर्णय लिइने बताए । माओवादीको राष्ट्रिय सम्मेलन यसअघि काठमाण्डुमा गर्ने तयारी थियो । माओवादीले आगामी मे १ तारिखका दिन राष्ट्रिय सम्मेलनको उदघाटन हुने जनाएको छ ।
यद्यपि सदस्यता नवीकरणमा भइरहेको ढिलाइका कारण सम्मेलन हुने/नहुने आशंका बढेको छ । केन्द्रीय समितिले २५ चैतभित्र सदस्यता नवीकरण गरिसक्न तल्ला कमिटीलाई निर्देशन दिएको भए पनि तोकिएको समयभित्र नवीकरण हुन सकेको छैन ।
यस्तै वैशाख १५ गतेभित्र जिल्ला सम्मेलन गरिसक्ने बताइएको भए पनि अझसम्म एउटा पनि जिल्लाको सम्मेलन भएको छैन ।