भक्तपुरमा रथ तान्दा ढुंगा हानाहान

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १०:०० मा प्रकाशित

भक्तपुर, ६ वैशाख – भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो ।

गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ढुंगा हानाहानमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन् । त्यस्तै, मनीष कासुला र रिमेश शाही पनि घाइते छन् ।

घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ । रथबाट खसेर अर्का १ जना घाइते भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका–५, चोछेका पुण्यराम सितिखु रथबाट लडेर घाइते भएका हुन् ।

केहीबेर तनाव भएपनि स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तानेर टौमढी, गःहिटी हुँदै वंशगोपाल लगिएको छ ।

भक्तपुरमा गत वर्ष पनि रथ तान्ने क्रममा विवाद हुँदा ढुंगा हानाहान भएको थियो । शुक्रबार बिहान ४ बजे वंशगोपालमै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us