
काठमाण्डु, ४ बैशाख – पहिलो पटक चीन भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत समारोहमा सहभागी हुन नेपाली दूतावास बेइजिङले पाँच दिन अघि नै अनलाइन फारम भरेर नाम दर्ता गरिसक्नु पर्ने सूचना जारी गरेको छ ।
चीनले अप्रिल २५ र २६ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० दोस्रो अन्तर्राष्ट्रिय फोरममा सहभागी हुने गरि राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिल (११ वैशाख) मा चीन भ्रमणमा जाँदैछिन् ।
बेइजिङस्थित नेपाली दूतावासले मंगलबार जारी गरेको सूचनामा राष्ट्रपति भण्डारीको नाम उल्लेख नगरी ‘नेपालबाट हुन गइरहेको उच्चस्तरीय भ्रमणको सिलसिलामा आयोजना हुने स्वागत समारोहमा उपस्थितिका लागि चीनमा रहेका नेपालीलाई आमन्त्रण’ गरिएको छ ।
वैशाख १४ गते (२७ अप्रिल, शनिबार) साँझ ६ः४५ बजेसम्म दूतावासमा प्रवेश गरिसक्नु पर्ने उल्लेख गरिएको सूचनामा भनिएको छ, ‘कार्यक्रममा सहभागी हुन चाहने प्रत्येक व्यक्तिले नाम दर्ता गर्नु अनिवार्य भएकाले त्यसका लागि क्यूआर कोड स्क्यान गरि फारम भर्नुहोला ।’
सूचनामा कार्यक्रमको पाँच दिन पहिले २२ अप्रिलको साँझ ५ बजेसम्म अनलाइन दर्ता गरिसक्नु पर्ने जनाइएको छ ।
नेपाली राष्ट्रपतिलाई बेइजिङले आमन्त्रण गरेको यो पहिलो पटक हो । यसअघि गणतन्त्र नेपालका राष्ट्रपति रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि उनी राजधानी बेइजिङ पुगेका थिएनन् । पहिलो पटक सन् २०१० मा यादव सांघाई वल्र्ड एक्स्पोमा सहभागी भएका थिए भने दोस्रो पटक बोआओ एशिया फोरममा ।
भण्डारी नेपालको दोस्रो राष्ट्रपति भएपछि ‘नेपालमा कम्युनिष्ट राष्ट्रपति भएको’ भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ताले खुशी मनाएका थिए ।
उनै राष्ट्रपति भण्डारीलाई चीनले बीआरआई फोरमको अवसर पारेर बेइजिङ निम्त्याएको हो ।