
काठमाण्डु, ३ बैशाख – २०७४ फागुन १० गते एक जनाको ज्यान जानेगरी एनसेल केन्द्रीय कार्यालय नक्खुमा भएको बम विस्फोट घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी वीरबहादुर कठायत उर्फ रणवीर र अर्का एक चन्द्रबहादुर तिरुवा रहेका छन् । दुवैलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
दुवै नख्खुमा बम राख्न जानेहरु रहेको प्रहरीले जनाएको छ । सिटिभी फुटेजमा उनीहरु बम राख्न गएको देखिएको थियो। त्यसकै आधारमा प्रहरीले दुवैको खोजी तीब्र पारेको थियो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट गराएको थियो । घटनामा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए ।
यसअघि प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले घटनाका मुख्य योजनाकार मानिएका सूर्य भुजेललाई २०७५ फागुन १४ मा पक्राउ गरेको थियो । भुजेलले बम विस्फोटमा फिल्ड कमाण्डर भएर काम गरेका थिए। उनी कलंकीस्थित एक घरमा लुकेर बसेका अवस्थामा पक्राउ परेका थिए ।