
काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी बलबाट शान्ति मिसनमा गएकाहरूले विभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर अर्थात १५ हजार बढी रूपैयाँ अब तिर्नु नपर्ने भएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले सशस्त्रको कल्याणकारी सेवा केन्द्रको सञ्चालक समितिले उक्त रकम तिर्नु नपर्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि मिसनबाट फर्केकाहरूले सशस्त्र प्रहरी बल महिला संघलाई ३५, भूपु सशस्त्र प्रहरी संघलाई ३५ र एपिएफ क्लबलाई ८० डलर अनिवार्य रूपमा दिनुपर्थ्यो ।
सशस्त्र प्रहरीका अहिले दक्षिण सुडानमा दुई शान्ति मिसन छन् । त्यहाँ ३२२ जना कार्यरत छन् । ती दुई मिसनमा जानेहरू १ वर्ष बसेर फर्कन्छन् ।
सशस्त्र प्रहरीबाट व्यक्तिगत रूपमा मिसनमा जानेहरूको संख्या २८ छ । उनीहरू हाइटी, लाइबेरियालगायत मुलुकका मिसनमा गएका छन् ।
मिसनमा जानेहरूले सशस्त्रको कल्याणकारी सेवा केन्द्रमा मिसन जाँदाको कुल तलबको ९ प्रतिशत बुझाउनु पर्छ । नेपाल प्रहरी र नेपाली सेनाबाट शान्ति मिसनमा जानेहरूले पनि ती संगठनका कल्याणकारी कोषमा पैसा दिनु पर्ने चलन छ ।