अन्ततः यूएईसँग हार्‍यो नेपाल

काठमाण्डु टुडे २०७५ चैत ३० गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ३० चैत – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत  युनाईटेड अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ । वर्षाका कारण प्रभावित खेलमा युएईले नेपाललाई १ रनले पराजित गरेको हो । खेलको निर्णय डकवर्थ लुइस मेथडबाट भएको हो ।

यसको परिणाम युएईको पक्षमा गएको हो । यो पराजयसँगै नेपाल जारी प्रतियोगितामा एक खेलमा जित र एकमा पराजित भएर अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा शनिबार बिहान शुरु भएको खेलको दोस्रो इनिङमा वर्षा भएको थियो । दोस्रो इनिङमा युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेल प्रभावित भएको थियो । वर्षाले प्रभावित हुन्जेलसम्म मलेसियाले ३ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।

उसले ३० ओभर खेलिसकेको अवस्थामा वर्षा भएर खेल स्थगित भएको थियो । मलेसियालाई जितका लागि २० ओभरमा १२६ रन बनाउनुपर्ने थियो । उससँग ७ विकेट बाँकी थिए । वर्षाले खेल प्रभावित हुन्जेलसम्म युएईका विरित्या अरविन्द ४७ रन बनाएर क्रिजमा थिए भने शून्य रनमा पालानियापन मेयाप्पन पनि क्रिजमै थिए ।

युएईका अंश टन्डन ५४ रनमा आउट भएका थिए भने सैयद हैदर पनि ११ रन बनाएर आउट भएका थिए । ४ रन बनाएका आर्यन लाक्रा रन आउट भएका थिए । नेपालका लागि सागर ढकाल र कमल ऐरीले एक–एक विकेट लिएका थिए ।

टस हार‍ेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । नेपालका लागि हरी चौहानले नटआउट ६७ र भीम शार्कीले ५३ रन प्रहार गरेका थिए । रित गौतमले ४४ र आरिफ शेखले २७ रन जोडेका थिए ।

युएईका लागि रिषभ मुखर्जीले ४ र महम्मद फजरुद्दिनले ३ विकेट लिएका थिए । नेपालले प्रतियोगिताको पहिलो खेल सिंगापुरविरुद्ध खेलेको थियो । उक्त खेल नेपालले २१७ रनले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us