नेपालगञ्ज, २८ चैत – आठ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो हक्की खेलमा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
मङ्गलप्रसाद माविको खेल मैदानमा बिहान सम्पन्न भएको खेलमा नेपाल प्रहरीका रोमण राणा एक्लैले ५ गोल गरेका हुन् । १० औं मिनेटमा पहिलो गोल गरेका राणाले त्यसपछि लगातार १२ औं, ३८ औं, ४५ औं र ५५ औं मिनेटमा गोल गरेर टिमलाई सजिलै जिताए ।
गण्डकी प्रदेशका ६ जना खेलाडी यस प्रतियोगितामा नेपाल प्रहरीबाट खेल्ने भएपछि टिम कमजोर भएको गण्डकी प्रदेशका प्रशिक्षक राजेन्द्र पाठकले बताए । पहिलो खेलमा गण्डकीले गएको बुधबार नेपाली सेनासँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो खेलमा नेपाली सेनाले प्रदेश नम्बर २ लाई पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले प्रदेश २ लाई ० का विरुद्ध १ गोलको अन्तरले पराजित गरेको हो । आर्मीका राम शाहले ५६ औं मिनेटमा गोल गरेका थिए । आर्मीले गएको बुधबार गण्डकीसँग गोलरहित बराबरी खेलेको थियो ।
तेस्रो खेल दिउँसो ४ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्माले जानकारी दिए । नेपालगन्ज कभर्डहलमा बिहीबारदेखि फेन्सिङ खेल सुरु भएको छ । ८ औ खेलकुदको उद्घाटन वैशाख ५ गते हुने भए पनि केही खेल चैत २७ देखि सुरु भएका हुन् ।