आठौँ राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागि

काठमाण्डु टुडे २०७५ चैत २५ गते १२:०७ मा प्रकाशित

बुटवल, २५ चैत – प्रदेश ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ सम्म हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

नेपालको राष्ट्रिय खेलकुदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो । कुल छ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ (नेफा)का महासचिव शैलेन्द्र राउतले जानकारी दिए ।

प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री र एक्युरेसी विधा गरी दुई विधामा सञ्चालन हुनेछ । पुरुष खेलाडीतर्फको एक्युरेसीमा ‘टिम एक्युरेसी’ र ‘इन्डिभिजुअल एक्युरेसी’ तथा क्रसकन्ट्रीतर्फ ‘टिम क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल क्रसकन्ट्री’ सञ्चालन हुने महासचिव राउतले जानकारी दिए । महिलातर्फ भने ‘इन्डिभिजुअल क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल एक्युरेसी’मा प्रतिस्पर्धा हुनेछ ।

प्याराग्लाइडिङमा प्रदेश १ बाट नौ, प्रदेश ३ बाट ११, गण्डकी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट चार खेलाडी सहभागी हुनेछन् भने भने विभागीय टोली नेपाल आर्मीबाट १४ खेलाडी सहभागी छन् । यस पटक प्याराग्लाइडिङ प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ १० र महिला चार गरी १४ जनाको टिम तयार गरेको छ ।

त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा रहेका पुरुष दुई खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन् ।

एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा उत्रनेछन् । त्यस्तै १८ औँ एशियाली खेलकूदमा रजत विजेतामध्ये युवा खेलाडी युकेश गुरुङ र शसिल गुरुङले गण्डकी प्रदेशबाट खेल्ने छन् ।

१८ औं एशियाडमा सहभागी महिला खेलाडी सविता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजनले गण्डकी प्रदेशबाटै सहभागिता जनाउने छन् । एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारी आठौँ राष्ट्रिय खेलकुदमा निर्णायकको भूमिकामा रहने महासचिव राउतले जानकारी दिए । प्याराग्लाइडिङ खेल आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

गत भदौमा इन्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us