भारतसँग नेपाल पराजित

काठमाण्डु टुडे २०७५ चैत २३ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, २३ चैत्र – ओलम्पिक महिला छनोट फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।

file photo

एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो ।

तर, घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नेपालले भारतलाई रोक्न सकेन । ओलम्पिक छनोटमा पनि भारतले नेपालमाथि आफ्नो प्रभाव कायमै राख्यो ।

म्यानमारमा भएको खेलमा भारतले उपहार गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरिन् ।

तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन । ६० औं मिनेटमा भारतले २–१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३–१ को जित निकाल्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us