सरकारमाथि नयाँ आरोपः नेपालीले विदेशमा हुने फुटबल र क्रिकेट म्याच हेर्न नपाउने !

काठमाण्डु टुडे २०७५ चैत २० गते ११:५२ मा प्रकाशित

काठमाण्डु, २० चैत– सामाजिक सञ्जालमाथि अनुदार नीति अख्तियार गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै चौतर्फी आरोप खेपिरहेको सरकारमाथि फेरि त्यस्तै अर्को आरोप थपिएको छ ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले अघि सारेको नयाँ विधेयकका प्रावधानले नेपाली टेलिभिजन बन्द हुने अवस्था आउने भन्दै केबल प्रसारकहरुले आपत्ति जनाएका हुन् । प्रस्तावित व्यवस्था हुबहु संसदबाट पारित भए नेपालका टेलिभिजन च्यानलहरु बन्द हुने अवस्था आउने दाबी उनीहरुको छ । प्रस्तातिव नयाँ सञ्चार नीतिमा नेपालमा हेरिने विदेशी च्यानलमा प्रसारण हुँदै आएका विज्ञापन प्रसारण रोक्नुपर्ने प्रावधान छ । त्यसलाई क्लिनफिड नीति भनिन्छ । विदेशी च्यानलमा विज्ञापन प्रसारण भएको समयमा नेपाली केबल अपरेटरहरु (डिटिएच) ले नेपाली विज्ञापन वा अन्य कुनै कार्यक्रम उत्पादन गरेर प्रसारण गर्नुपर्ने प्रावधानको उनीहरुले विरोध गरेका हुन् । नेपालमा सबैभन्दा धेरै हेरिने विदेशी च्यानलमा भारतीय टेलिभिजन पर्छन् ।

हाल उनीहरुले विज्ञापनको मात्र पैसा लैजान्छन्, टेलिभिजन हेरेको पैसा लिँदैनन् । यदि क्लिनफिड लागू भएको अवस्थामा आफूहरुले सित्तैंमा च्यानल दिन नसक्ने चेतावनी उनीहरुले दिइसकेको केबल महासंघ नेपालका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । उनले त्यस्तो अवस्थामा विदेशी च्यानलले नेपालका लागि छुट्टै स्याटेलाइट (फिड) मार्फत प्रसारण गर्नुपर्ने र त्यो महंगो हुने भएकाले नेपालजस्तो सानो बजारमा ठूलो लगानी गर्न उनीहरु तयार नहुने बताए । ‘हाम्रो बजार सानो छ, उनीहरु हाम्रा लागि छुट्टै फिड राखेर च्यानल दिन तयार छैनन्’, पराजुलीले भने, ‘यस्तै हो भने नेपालीले विदेशी च्यानल हेर्न नपाउने हुन्छ ।’ उनले त्यस्तो प्रावधानले नेपालमा हाल सञ्चालनमा रहेका निजी क्षेत्रका अधिकांश टेलिभिजन बन्द हुने अवस्ता आउने जिकिर गरे । नेपालका केबल अपरेटरहरुले कर्मचारी राखेर मर्मतका लागि काम गरिरहेको भन्दै उनले यदि क्लिनफिड लागू भए ती कर्मचारी कामबाट हटाउनुपर्ने र प्राविधिक समस्या आउँदा मर्मत नहुने भएकाले त्यसको असर नेपाली च्यानलसम्म पर्ने उल्लेख गरे ।

नेपालीले फुटबल, क्रिकेट र रियालिटी शो हेर्न नपाउने
पराजुलीले कतिपय नीति निर्माण तहमा बसेकाहरुले नै विदेशी च्यानलको प्रसारण बन्द हुँदा नेपाललाई केही फरक नपर्ने हल्ला टिप्पणी गर्ने गरेको बताए । नेपालमा नेपालीभन्दा विदेशी च्यानल हेर्नेको संख्या अधिक रहेको उनको भनाइ छ । क्लिनफिड नीति लागू भएर विदेशी चयानलको प्रसारण बन्द हुने अवस्था आए नेपालीले चर्चित अन्तर्राष्ट्रय फुटबल र क्रिकेट खेल तथा रियालिटी शोजस्ता कार्यक्रम हेर्न नपाउने तर्क गरे । ‘नेपालीलाई विदेशी च्यालनमा बानी परिसकेको छ’, उनले भने, ‘फुटबल, क्रिकेट र रियालिटी शो हेर्न नपाउने अवस्था आए ठूलो जनमत सरकारका विरुद्ध उत्रन्छ ।’
संसारमा कतै छैन क्लिनफिड
सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा र मन्त्रालयका अधिकारीहरु क्लिनफिड नीति लागू भएपछि आउने जटिलताबारे आफूहरुले कुरा गर्न खोज्दा तयार नभएको आरोप केबल अपरेटरहरुको छ । उनीहरुले विदेशमा समेत त्यस्तो व्यवस्था रहेको हवाला दिने गरे पनि संसारमा कतै त्यस्तो व्यवस्था नरहेको पराजुलीले बताए । ‘उहाँहरुले बंगलादेश र श्रीलंकामा क्लिनफिड लागू भएको दाबी गर्नुभएको छ’, पराजुलीले भने, ‘हामीले त्यहाँका केबल अपरेटरसँग त्यसबारे सोध्दा उनीहरु हाँस्छन् ।’ क्लिनफिड नीति सिंगापुरमा रहेको र त्यो नेपालमा हाल प्रस्ताव गरिएको भन्दा फरक व्यवस्था रहेको उनले सुनाए । ‘सिंगापुरमा चाहिं छ, तर त्यो विदेशीलाई मात्र नभई स्वदेशी च्यालनका लागि पनि हो’, उनले भने । त्यो क्लिनफड भन्दा पनि सशुल्क च्यानल भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us